प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
विभागको परिचय

नेपाल प्रहरीलाई नेपालको संघीय संरचना अनुरुप रुपान्तरण गर्दै लैजाने क्रममा नेपाल प्रहरी र प्रदेश प्रहरीहरु बीचमा प्रभावकारी समन्वय, सहयोग र सहकार्य गर्दै शान्ति-सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम, अनुसन्धान र नियन्त्रण गर्ने, मानव संसाधन व्यवस्थापन गर्ने कार्य प्रकृति अनुसार छुट्टै विभागको स्थापना गरिनु पर्ने आवश्यक भएकाले नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/११/०५ गतेको निर्णय तथा प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ को दफा ३ बमोजिम गठित समितिको प्रतिवेदन अनुसार, नेपाल प्रहरी र प्रदेश प्रहरीबीच प्रभावकारी समन्वय र कार्यसम्पादन सुनिश्चित गर्न नेपाल प्रहरी प्रदेश समन्वय विभाग को स्थापना गरिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) प्रमुख रहने गरी स्थापना भएको यस विभागले नेपाल प्रहरी प्रधान कार्यालय मातहत प्रदेश स्तरीय शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम, अनुसन्धान तथा नियन्त्रण कार्यलाई एकिकृत, सुशासित र प्रभावकारी ढंगबाट अघि बढाउने उद्देश्य राखी कार्य सञ्चालन गर्दै आएको छ । यस विभागले नेपाल प्रहरी तथा प्रदेश प्रहरी बीच नीति, नियम, मापदण्ड, कार्ययोजना, स्रोतसाधन, जनशक्ति, सूचना आदान–प्रदान तथा सामूहिक कार्यसम्पादनलाई संस्थागत एवं व्यवस्थित बनाउँदै सुरक्षा प्रशासनलाई एकीकृत र उत्तरदायी बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । साथै प्रदेश प्रहरी कार्यालयहरूमा रहेको समन्वय इकाईको प्रभावकारी सञ्चालन, सुपरीवेक्षण, अनुगमन, मूल्याङ्कन तथा निर्देशनका कार्यहरू विभाग मार्फत निरन्तर रुपमा सम्पन्न गरिन्छ।

 

विभागको लक्ष्य

  • प्रदेशस्तरको शान्ति सु-व्यवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान कार्यलाई सुसंगठित र परिणाममुखी बनाउनु ।
  • संगठनको छवि, दक्षता र जनविश्वास अभिवृद्धि हुने गरी प्रभावकारी संयन्त्रको विकास गर्नु ।
  • संघ र प्रदेश बीच विश्वास, सहकार्य र पारस्परिक सहयोगमा आधारित एकिकृत सुरक्षा संयन्त्र निर्माणमा योगदान पुर्‍याउनु ।

 

विभागको कामहरु

  • नेपाल प्रहरीका विभिन्न ईकाइहरूबाट दैनिक रुपमा सम्पादित हुने कार्यहरूको प्रगति विवरणको आधारमा शाप्‍ताहिक तथा मासिक रुपमा मुल्याङ्कन गर्ने,
  • नेपाल प्रहरी र प्रदेश प्रहरीबीच तथा एउटा प्रदेश प्रहरी र अर्को प्रदेश प्रहरीबीच सूचना र सहयोग आदान प्रदान गर्ने प्रयोजनको लागि माथिल्लो सम्पर्क निकायको काम गर्ने,
  • प्रचलित नेपाल कानुन तथा नेपाल प्रहरीले लागु गरीएको नीति अनुरुप समन्वय इकाईको काम कारबाहीलाई प्रभावकारी बनाउन अल्पकालीन तथा दीर्घकालीन योजना बनाई लागु गर्ने/गराउने,
  • प्रदेश स्तरमा रहने कार्यालयहरुको प्रभावकारी परिचालन, रेखदेख नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
  • शान्ति-सुव्यवस्था, अपराध रोकथाम, अनुसन्धान र नियन्त्रण विषयमा नेपाल प्रहरी र प्रदेश प्रहरीबीच तथा एउटा प्रदेश प्रहरी र अर्को प्रदेश प्रहरी बीचको प्रभावकारी समन्वय, सहयोग र सहकार्यको वातावरण कायम गर्ने/गराउने,
  • प्रदेश क्षेत्र भित्र रहेका नेपाल प्रहरीका इकाई र प्रदेश प्रहरी इकाईहरूबीच समझदारी, पारस्परिक सहयोग, विश्वास र सहकार्यको वातावरण कायम गर्ने/गराउने,
  • राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनको लागि समन्वय गर्ने,
  • नेपाल प्रहरीलाई प्राप्त वैदेशिक छात्रवृत्ति अन्तर्गतका अध्ययन, तालिम, सेमिनार, गोष्ठी जस्ता अवसर आवश्यकता र औचित्यको आधारमा प्रचलित कानुन बमोजिम प्रदेश प्रहरीमा समायोजन हुने कर्मचारीलाई उपलब्ध गराउने विषयमा समन्वय गर्ने/गराउने,
  • संयुक्त राष्ट्रसंघको मिशनमा प्रहरी खटाउँदा, प्रहरी कल्याणकारी कोष, प्रहरी अस्पताल तथा प्रहरी विद्यालयको सुविधा उपलब्ध गराउँदा प्रचलित कानुन बमोजिम प्रदेश प्रहरीमा समायोजन हुने कर्मचारीलाई उपलब्ध गराउने विषयमा समन्वय गर्ने/गराउने,
  • पुल दरबन्दीमा रहेका प्रहरी कर्मचारीमध्येबाट प्रदेश प्रहरीमा कामकाज गर्ने गरी अवधी तोकी खटाउने विषयमा नेपाल प्रहरी र प्रदेश प्रहरीबीच समन्वय गर्ने/गराउने,
  • नेपाल प्रहरी दरबन्दीका प्रहरी कर्मचारीहरू प्रदेश प्रहरीमा खटिई जाने विषयमा सम्बन्धित प्रदेश प्रहरीसँग आवश्यक समन्वय गर्ने/गराउने,
  • प्रहरी कर्मचारीको कानुन बमोजिम हुने अन्तर प्रदेश सरुवाको विषयमा सम्बन्धित प्रदेश प्रहरीहरू बीच ( समन्वय गर्ने/गराउने,
  • प्रदेश प्रहरीबाट नेपाल प्रहरीमा प्रचलित कानुन बमोजिम हुने बढुवाको विषयमा नेपाल प्रहरी र सम्बन्धित प्रदेश प्रहरीसँग आवश्यक समन्वय गर्ने/गराउने,
  • प्रदेश अन्तर्गतका समन्वय इकाईको काम कारबाही प्रभावकारी बनाउन नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,  नेपाल प्रहरी र प्रदेश प्रहरीबीच तथा एउटा प्रदेश प्रहरी र अर्को प्रदेश प्रहरीबीच सूचना र सहयोग आदान प्रदान गर्ने लगायतका समन्वयको विषयलाई प्रभावकारी बनाउनका लागि वर्षमा कम्तीमा एक पटक नेपाल प्रहरी र प्रदेश प्रहरीबीच सेमिनार, गोष्ठी, बैठक, सम्मेलनको आयोजना गर्ने,
  • समन्वय इकाईले सम्पादन गरेका काम कारबाहीहरूको विवरण अभिलेख प्रणाली बनाई राख्ने, राख्न लगाउने र योजना बनाई लागु गर्ने/गराउने,
  • नेपाल प्रहरी र प्रदेश प्रहरी तथा प्रदेश प्रहरीबीचको प्रभावकारी समन्वय र सहयोगमा देखिएका समस्या, नेपाल प्रहरी र प्रदेश प्रहरी तथा अन्तर-प्रहरीको कार्य क्षेत्र सम्बन्धी विवादको पहिचान र समीक्षा गरी निराकरणका उपायहरूको सम्बन्धमा प्रहरी महानिरीक्षक समक्ष रायसहित प्रतिवेदन गर्ने,
  • तोकिए बमोजिम निर्देशनालयसँग सम्बन्धित अन्य कार्यहरू गर्ने/गराउने ।